राष्ट्रपति र उपराष्ट्रपतिको क्षेत्रबाट आईजी र डिआईजीको संसद् छिर्ने दोस्रो प्रयास !


नेपालको सबैभन्दा बलियो संगठन नेपाल प्रहरीको नेतृत्व तहसम्म पुगेर देशका लागि ३० औं वर्ष सेवा गरेपछि राजनीतिमा सुरु गरेका पूर्व प्रहरी महानिरीक्षक (आईज) सर्वेन्द्र खनाल र पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेल अहिले चुनावी मैदानमा छन् ।

नेपाल प्रहरी संगठनमा सेवारत रहँदा मुलुकका लागि खेलेको भूमिकालाई राजनीतिमा परिणत गर्दै व्यवस्थापिका संसदमा प्रवेश गर्ने चाह राख्ने उनीहरु एक्ला प्रहरी भने होइनन् ।

यसअघि मंसिर ४ को निर्वाचनमा समेत प्रतिनिधिसभा संसदका लागि प्रतिस्पर्धा गरेका यी दुई अधिकारीहरु पहिलो असफलतापछि पुनः वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा मैदानमा उत्रिएका छन् ।

पूर्वआईजी सर्वेन्द्र खनालले तनहुँबाट उम्मेदवारी दिएका छन् भने रमेश खरेलले बाराबाट उम्मेदवारी दिएका छन् । तनहुँ र बारा ती दुई स्थान हुन् जसले यसपटकका राष्ट्रपति र उपराष्ट्रपति दिलाएका छन् । पूर्व आईजीले राष्ट्रपतिको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् भने डिआईजीले उपराष्ट्रपतिको क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

उनीहरु दुवै जना यसपटक हेभिवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । खनालले उम्मेदवारी दिएको तनहुँमा नेपाली कांग्रेसका युवा नेता गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रमुख उम्मेदवार हुन् । भट्टराई कांग्रेस राजनीतिमा तनहुँका लोकप्रिय नेताका रुपमा मानिन्छन् भने वाग्ले भर्खरै कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवारी दिएका उम्मेदवार हुन् । उनीहरु दुईजनासँग खनालले प्रतिस्पर्धा गरिरहँदा त्यति सहजै जित हात पार्ने भने देखिएको छैन । तर, भट्टराई र वाग्लेको भिडन्तमा खनालले एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको मौन समर्थन रहँदा बाजी नमार्लान् भन्न पनि सकिँदैन ।

त्यस्तै बाराबाट उम्मेदवारी दिएका अर्का प्रहरी रमेश खरेलले जनता समाजवादी पार्टीका उपेन्द्र यादवका साथै यसअघिका झिनो मतान्तरबाट पराजय भोगेका शिवचन्द्रप्रसाद कुशवाहासँग भिडन्त गर्दैछन् । खरेल यसअघि नेपाल सुशासन पार्टीको नेतृत्व छाडेर रास्वपाबाट उम्मेदवारी दिनका लागि बारा पुगेका हुन् । आफ्नो जीवनको जागिरेकालमा बारामा रहेर उत्कृष्ट कार्य गरेका खरेलले बाराका जनतालाई लगाएको गुनको बदला लिनका लागि बारा पुगेका देखिन्छन् । तर, उनले उपेन्द्र यादव र शिवचन्द्रको लडाईँमा खरो भएर उत्रिनु पर्ने देखिन्छ ।

यसपटक संसदमा लामो प्रयासपछि नवलपरासी पश्चिमबाट विजयी भएका पूर्व आईजी धुव्रबहादुर प्रधान छन् भने अर्का प्रहरी अधिकृत नवराज सिलवाल भने ललितपुरमा पराजित हुँदै संसद छिर्न सकेका छैनन् । तर, खनाल र खरेल भने गत मंसिरमा काठमाडौंबाट पराजय भोगे पनि उपत्यका बाहिरबाटै भए पनि संसद छिर्ने दाउमा राष्ट्रपति र उपराष्ट्रपतिको जिल्लामा पुगेका छन् । तर उनीहरू दुवै जना राष्ट्रपति र उपराष्ट्रपतिले जित हात पारेको दलभन्दा फरक दलबाट चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया