गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे


काठमाडौं – सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।​

मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानी अनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे ।

उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको पनि जिकिर गरे । सभामुख घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्ने कुराको छलफल हुन जरुरी रहेको बताए । उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण घट्नुको कारण पत्ता लगाइ यथोचित सम्बोधन हुन जरुरी रहेको औँलयाए ।

सभामुख घिमिरेले देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरूलाई सुलभ शिक्षा दिन जरुरी रहेको बताए । उनले गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताए ।

सभामुख घिमिरेले शिक्षा ऐन पूरा पारित गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया