

नेविसंघ तदर्थ समितिलाई पूर्णता दिन सहमति

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिलाई १० दिनभित्र पूर्णता दिने सहमति भएको छ।
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर १० दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दश दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसंघ तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए।
नेविसंघको केन्द्रीय महाधिवेशन चाँडो हुनुपर्ने मागसहित एक हप्तादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघ बृहत् संघर्ष समितिको नाममा अनसन भइरहेको थियो।
महाधिवेशन गर्ने, तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेसँगै उक्त अनशन स्थगित भएको सचिव केसीले बताए।
उक्त सहमतिअनुसार जिल्लामा देखिएको नेविसंघको विवाद पार्टीको नेतृत्व र पदाधिकारीका बीचमा छलफल गरी समाधान गर्ने सहमतिसमेत भएको छ।
उक्त सहमतिमा नेविसंघका अध्यक्ष शेर्पा, नेविसंघ बृहत् संघर्ष समितिका उज्ज्वल बज्राचार्य र कांग्रेस केन्द्रीय कार्यालयका सचिव केसीले हस्ताक्षर गरेका छन्।

