जग्गाको मुआब्जा माग्दै सुख्खा बन्दरगाहमा धर्ना


वीरगन्ज – जग्गाको मुअब्जाको माग गर्दै वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा मंगलबार पनि जग्गाधनीहरूले धर्ना दिएका छन्। सरकारले सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी (आइसीपी) बीचको ६२ बिग्गा अधिग्रहण गरेको ६ वर्ष बित्दा समेत केही जग्गाधनीहरूले अहिलेसम्म आफ्नो जग्गाको मुआब्जा रकम पाउन सकेका छैनन्।

मुआब्जा पाउन बाँकी रहेका जग्गाधनीहरूले नै मंगलबार सुख्खा बन्दरगाहको मूल गेटमा धर्ना दिएका हुन्। धर्नामा बसेकाहरूले सरकार विरुद्ध नाराबाजी पनि गरेका थिए। धर्ना र नाराबाजीका कारण सुख्खा बन्दरगाहको कामकाज केही घण्टा प्रभावित पनि भएको थियो।

सरकारले जग्गा अधिग्रहण गरी रोक्का गरेको भए पनि अहिलेसम्म आफूहरूले मुआब्जा रकम नपाएको र अर्को तर्फ खाँचै पर्दा आफ्नै जग्गा बेचेर गर्जो टार्न पनि नपाएको जग्गाधनीहरूको गुनासो छ।

सरकारले २०७३ सालदेखि बन्दरगाह भन्सार कार्यालय र वीरगन्ज-१७ अलौंस्थित वीरगन्ज भन्सार मातहतको आइसीपी भन्सारबीचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएको थियो। भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा पत्र पठाएर उक्त जग्गा रोक्का गराएको थियो।

प्रतिक्रिया