संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प छैन : सांसद पाण्डे


काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताएका छन् । मंगलबार सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सांसद पाण्डेले पुरानै ऐनलाई टालटुल गरि चलाइरहेको बताउँदै संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताएका हुन् ।

२०२८ सालमा बनेको शिक्षा नीतिलाई पटकपटक संशोधन गरेर चलाइरहेको उनको भनाइ छ। ‘२०२८ सालको शिक्षा नीतिलाई टालटुले सुधार गर्‍यौं। सातौं, आठौं र नवौं गरी विभिन्न संशोधन गर्‍यौं,’ उनले भने।

२०२८ सालको शिक्षा ऐनको मुल धेय पञ्चायतलाई कसरी बलियो बनाउने भन्ने खालको रहेको दाबी गरे। उनले उक्त शिक्षा ऐन कुन रङ, कुन प्रकृतिको भन्ने कुरामा अस्पष्ट रहेको उद्घोष गरे।

उनले लोकतान्त्रिक गणतन्त्रको बेलामा संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताए । उनले भने, ‘हामीले संघीय शिक्षा ऐन ल्याउनमा ढिलो गर्नु हुँदैन। यो अभियानमा सामुदायिक विद्यालय व्यवस्थापन समितिले संकल्प गरोस्। संसद र सरकारले समेत त्यसको जवाफ फिल गर्न पाओस्।’

प्रतिक्रिया