

मटीतेल भण्डारणस्थलमा अब पेट्रोल राखिने, जम्मा क्षमता कति ?

काठमाडाैं – नेपाल आयल निगमले मटीतेल भन्डारण गर्ने ट्यांकीमा अब पेट्रोल राख्न मिल्नेगरी तयार गर्ने भएको छ । पछिल्लो समय देशैभर मटीतेल खपत घट्दै गएसँगै निगमले पेट्रोल भण्डारणस्थलका रूपमा रूपान्तरण गर्न लागेको हो ।
देशभर रहेका मटीतेल भन्डारण गर्ने ट्यांकीलाई परिवर्तन गरेर पाँच हजार किलोलिटर पेट्रोल भन्डारण गरिने निगमले जानकारी दिएको छ । २०६५-६६ देखि डिजेल र मटीतेलको मूल्य एउटै गराएपछि बजारमा मटीतेलको खपत घट्दै गएको हो । निगमले बजारमा पेट्रोलको माग बढ्दै गएको र मटीतेलको घट्दै गएकाले भण्डारणस्थलको उपयोग गर्न लागिएको जनाएकाे छ ।
भैरहवामा रहेको ३ लाख ९४ हजार लिटर क्षमता रहेको मटीतेलको भन्डारण ट्यांकीलाई पेट्रोलमा परिवर्तन गर्न लागिएको छ । यसको लागि निर्माणको काम समेत सुरु भइसकेको निगमले जानकारी दिएको छ । यस्तै, नेपालगन्जमा रहेको ६ लाख ६० हजार लिटर मटीतेलमा परिवर्तन गर्न लागिएको छ ।
धनगढीमा ७० हजार लिटर, पोखरामा ६ लाख ६० हजार लिटर मटीतेललाई पेट्रोलमा परिवर्तन गर्न लागेको निगमले जानकारी दिएको छ । यस्तै बाराको अमलेखगन्जमा ४२ सय किलोलिटर क्षमताको दुईवटा पेट्रोल भन्डारण गर्ने ट्यांकी निर्माण गर्न लागिएको छ । विराटनगरमा रहेको ७ लाख ५० हजार लिटर मटीतेललाई पेट्रोलमा परिवर्तन गर्न लागेको निगमले जनाएकाे छ ।
काठमाडौंको थानकोटमा रहेको मटीतेल भन्डारण गर्ने ट्यांकीलाई निगमले दुई वर्ष अगाडि नै पेट्रोलमा परिवर्तन गरेको थियो । हाल दैनिक ८० देखि एक सय किलोलिटर मटीतेलकाे खपत हुने गर्छ । डिजेल र पेट्रोल वार्षिक रूपमा ८ देखि १० प्रतिशतका दरले बढ्दै गएको छ । निगमका अनुसार पेट्रोल मासिक ५५ हजार किलोलिटर र डिजेल एक लाख ५५ हजार किलोलिटर खपत हुन्छ ।

