

रामेछापमा एकैदिन ५७ उडान

रामेछाप – सोमबार रामेछाप विमानस्थलबाट पछिल्लो सिजकै सबैभन्दा धेरै ५७ उडान भएको छ।
यो सिजनमा सदरमुकाम मन्थलीस्थित रामेछाप विमानस्थलबाट यति धेरै उडान भएको यो पहिलो पटक हो। सोमबार दिनभर लुक्लाको मौसम सफा रहेकाले यति धेरै उडान सम्भव भएको रामेछाप विमानस्थलले जनाएको छ।
दुई पर्यटकीय सिजनमा गरी वर्षमा ६ महिना उडान हुँदै आएको छ। लुक्लाका लागि उडान सुरु भएसँगै सोमबार ८ सय ८४ पर्यटक लुक्लाका लागि उडेको रामेछाप विमानस्थलका इञ्चार्ज प्रविण सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार सोमबार तारा एयरलायन्सका जहाजले १५, सीताले २० र समिट एयरलायन्सका जहाजले २० उडान र हेलिकोप्टरले २ उडान गरेका छन्।
काठमाडौंमा अत्याधिक एयर ट्राफिक जामका कारण लुक्ला जाने पर्यटकहरू रामेछापसम्म ट्राभल्स एजेन्सीमार्फत आइ रामेछाप विमानस्थलबाट लुक्ला प्रस्थान गर्दछन्।
काठमाडौंबाट सवारी यातायात मार्फत मन्थली आर्लिएपछि जहाज चढेर सिधै लुक्ला उड्ने भएकाले विमानस्थल आसपासका होटलहरूमा पर्यटकको चहलपहल देखिए पनि होटल ब्यवसायमा भने खासै प्रभाव देखिएको छैन।
पर्यटकहरू मन्थलीमा बास नबस्ने भएकाले पर्यटकको आगमनले मन्थलीका होलट व्यवसायलाई खासै छोएको छैन।
मन्थलीमा बस्नेत होलटको राम्रो व्यवस्था नभएको साथै महँगो भएको भनी गलत हल्ला चलाइएकाले पर्यटकहरू मन्थलीमा बास नबस्ने गरेको रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताए।
मन्थलीका होटलहरूमा १ हजार जनासम्म पर्यटकहरूलाई व्यवस्थित रुपमा राख्न सकिने क्षमता रहेको र हल्ला गरेजस्तो महँगो नभएको पनि श्रेष्ठले बताए। मन्थलीका होटल व्यवसायीहरूले पर्यटकलाई सर्वशुलभ मूल्यमा सेवा सुविधा दिँदै आएको श्रेष्ठको भनाइ छ।
रामेछाप विमानस्थलबाट दैनिक यतिधेरै उडान भइरहँदा ७ वर्षदेखि रामेछापबासी भने जहाजमार्फत काठमाडौं जान पाएका छैनन्।

