नेपाल-चीन कूटनीति परामर्श संयन्त्रको बैठक बेइजिङमा हुँदै


काठमाडौं – नेपाल-चीन कूटनीति परामर्श संयन्त्रको बैठक बस्ने भएको छ। बैठक चीनको राजधानी बेइजिङमा चैत २४ गतेका लागि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौड्याल नेतृत्वको नेपाली टोली बेइजिङ जाँदैछ।

नेपालबाट सचिव पौड्यालले बैठकको नेतृत्व गर्नेछन् भने चिनियाँ पक्षबाट त्यहाँको विदेश मन्त्रालयका उपमन्त्री सोन् वेतोङले गर्नेछन्। बैठकमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठसमेत सहभागी हुनेछन्।

यो नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक हो। बैठकमा नेपाल-चीन सम्बन्ध, बिआरआई परियोजनालगायत विषयमा छलफल हुने छ। नेपालले बिआरआई परियोजना कार्यान्वयनमा ढिलाई गरेको प्रति चीन सशंकित हुँदै आएको छ।

नेपालले बिआरआई परियोजना ऋण हो कि अनुदान हो भन्नेमा स्पष्ट नभइकन कार्यान्वयन नहुने बताउँदै आएको छ। गत चैतमा तत्कालीन विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बिआरआई परियोना ऋण हो कि अनुदान हो स्पष्ट पार्नुपर्न आग्रह गरेका थिए।

प्रतिक्रिया