

वैशाखदेखि सबै चिनियाँ नाका खुल्ने

काठमाडौं – लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिए । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला रहेका छन् ।
मुगुको न्याङ्चे, दार्चुुलाको व्यास, गोरखाको चुुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ । चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ ।
रसुवाको केरुङ नाका शनिबार खुला भएको छ । रसुवाको केरुङ नाका गत जनवरी पहिलो सातादेखि अर्थात् पुस १२ गते एकतर्फी रूपमा मात्र खुला भएको थियो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

