
उपनिर्वाचनका लागि रास्वपाद्वारा ३ उम्मेदवार घोषणा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।
पार्टी कार्यालय महाराजगञ्जमा आज पत्रकार सम्मेलन गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
तनहुँ १ मा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेकोमा रास्वपाले कांग्रेस छाडेर गत बिहिबार मात्र पार्टी प्रवेश गरेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।
बारा २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए । काठमाडौं १ मा पाँचौ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन् । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।



कागजपत्र |
