


आजदेखि मन्त्री पाउँदै मन्त्रालय, दिउँसो नयाँ मन्त्रीहरूले सपथ लिने

काठमाडौं — लामो समयपछि आज सरकारले पूर्णता पाउँदैछ ।
तत्कालिन एमालेसँगको गठबन्धन असफल भएपछि अधिकांश मन्त्रालयहरुको जिम्मेवारी लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रालयहरुले सम्बन्धित मन्त्रीको जिम्मा लगाउने भएका छन् । लामोसमयदेखि प्रधानमन्त्रीसँगै रहेका मन्त्रालयहरुले आजदेखि मन्त्री पाउने भएका छन् ।
बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो ।
शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए ।
हिजो बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।
सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्ला–एक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।
नेपाली कांग्रेस र एकीकृत समाजवादीले मन्त्रीहरुको नाम टुंग्याइसकेका छन् ।
गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।

