


देउवाले बेवास्ता गरेका स्वर्णिम राष्ट्रिय स्वतन्त्रबाट तनहुँको उम्मेदवार !

काठमाडौं – वैशाख १० गते हुन लागेको उपनिर्वाचनका क्रममा तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बन्ने सम्भावना रहेको छ ।
रास्वपा प्रवक्ता डा. मुकुल ढकालले पार्टीको तर्फबाट वाग्लेलाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको र एक दुई दिनमा अन्तिम निर्णय आउने बताए ।
उनले भने, ‘स्वर्णिमजीसँग कुरा भइरहेको छ हाम्रो । उहाँले पार्टीमा आबद्ध भएर प्राइमरी इलेक्सनमार्फत् छनोट हुनुपर्ने हुन्छ’, ढकालले भने, ‘हामीले तनहुँमा सरप्राइज दिन लागेका हौं । एक, दुई दिनमा केही आउला ।’
वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।
रास्वपाको प्रस्तावमा स्वर्णिमले के प्रतिक्रिया दिएका छन् भन्ने खुलेको छैन ।

