

नेपाली भूमि विदेशी मुलुकविरुद्ध प्रयोग हुन दिदैनौं : प्रधानमन्त्री दाहाल

काठमाडौं – सरकारले नेपाली भूमि विदेशी मुलुकविरुद्ध प्रयोग हुन नदिने नीति अवलम्बन गरेको छ। दस दलीय गठबन्धनले तयार पारेको साझा न्युनतम कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पञ्चशीलका सिद्धान्त अंगाल्दै विदेशी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने नीति लिएको हो।
त्यस्तै नेपालले सार्क, विमिष्टेकजस्ता संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने साझा नीति तथा कार्यक्रममा उल्लेख छ। ‘क्षेत्रीय स्तरमा तनावरहीत मित्रताका निम्ति आवश्यक पहलकदमी लिने। नेपालको भूमि कुनै पनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने। सार्क, विमिष्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने,’ कार्यक्रममा उल्लेख छ।
त्यस्तै संयुक्त राष्ट्रसंघको वडापत्र, विश्व शान्तिका मान्यता, असंलग्नता र पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन एवं पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने नीति सरकारको छ। ‘परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने। उपरोक्त नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारले प्रत्येक मन्त्रालयबाट ठोस कार्ययोजना बनाई कार्यान्वयन प्रक्रिया अघि बढाउने छ। सोको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गर्नेछ,’ साझा कार्यक्रममा भनिएको छ।
त्यस्तै दीगो शान्ति, आर्थिक रूपान्तरण र जनताको समृद्धिका लागि छिमेकीलगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने र आपसी सहयोगका क्षेत्रहरू विस्तार गरी सहकार्य र अन्तरआबद्धतालाई बढावा दिने सरकारको नीति छ।

