

सरकारले मिटरब्याज पीडितसँग छलकपट गरिरहेको छः प्रदीप पौडेल

काठमाडौं — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक–पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताए ।
सिरहा र महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आइसकेको र अब अर्को समूह रौतहटबाट पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताए ।
‘नागरिक सधैं दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौं धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौं आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने’, पौडेलले भने, ‘कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने ?’
यसअघि नवलपरासीका मिटरब्याज पीडितले पटक पटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव पनि कार्यान्वयन नभएको सांसद पौडेलले बताए । उक्त सुझाव कार्यदलले मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रुपमा स्वीकार गरे पनि त्यस अनुसार कानुन नबनाउँदा साहुकारहरुले किसानको जग्गा धमाधम हडपिरहेको बताए ।
विपन्न नागरिकको आर्थिक अभाव, कानुनी ज्ञान र पहुँचविहीनताको दुरुपयोग गरेर ३ गुणा बढीको तमसुक गराएर किसानलाई भूमिबाट बेदखल गरिरहेको भन्दै पौडेलले न्यायपूर्ण समाजमा यो स्वीकार्य हुन नसक्ने बताए ।

