

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री नल्याउन कोषको आग्रह

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ ।
पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो ।
कोषले बुधबार एक सूचना जारी गर्दै, ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ । यो अभियान ३ महिनासम्म निरन्तर चल्नेछ ।

