

राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील छः प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन् ।
राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुने बताए ।
‘प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य-मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ । राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो’, उनले भने, ‘यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाइ बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक पर्दछ ।’
‘राष्ट्रिय सुरक्षा नीति २०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ कार्यान्वयनमा ल्याइसकिएको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘नेपालका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ, व्यवसायिक बनाउन तथा आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्नेछ’, उनले भने ।
वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उनले उल्लेख गरे ।
देशको भू-राजनैतिक अवस्थिति, राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सिमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिलगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय शक्तिका मुख्य तत्वहरु राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु ।’

