

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना जेल चलान

काठमाडौं – प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक कार्यक्रकममा सहभागी हुन जानेक्रममा उनीविरुद्ध नाराबाजी गर्ने ३ जनालाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । उक्त धरौटी नबुझाएपछि उनीहरुलाई केन्द्रीय कारागार पठाइएका हुन् ।

