

११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित काठमाडौं आइपुगे

काठमाडौं – ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै आज (आयउतबार) काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् ।
मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास-काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।
नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।
मिटर ब्याज पीडित राज कुमारका अनुसार भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको बताए ।
अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताए । बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको उनले बताए । बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गरे । जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितको गुनासो छ ।

