ओलीको जस्तो क्रेज अरुको छैन : विष्णु रिमाल


काठमाडौं – प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार काठमाडौंमा भएको आमसभामा सवा २ लाख मानिस उपस्थित भएको दाबी गरेका छन् । र, अहिले केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैको नभएको बताएका छन् ।

शनिबार नुवाकोट काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिमालले कति मास होला भनेर आफूले २र३ पटक मञ्चमा उभिएर हेरेको समेत बताए ।

आफू टेक्निकल हिसाब गर्ने मानिस भएको भन्दै उनले भने, ‘त्रिचन्द्रबाट नारायणहिटीसम्म एक किलोमिटर होला, चौडाई ७० मिटर होला । त्यसको क्षेत्रफल ५ लाख बर्गफिटभन्दा बढी हुन्छ । एउटा मान्छे कति ठाउँ ओगट्यो होला ? सामान्यतया बस्दा २ फिट हुन्छ, ६ फिट राखेर हिसाब गर्दा त्यहाँ १ लाख २४ हजार मान्छे अट्छन् ।’

सञ्चयकोषतिर ६०० र जयनेपाल हलतिर ५०० मिटर लम्बई र ५० मिटर चौडाईमा ९१ हजार मानिस रहेको हिसाब सुनाउँदै नेता रिमालले अघि भने, ‘कम्ति पनि २ लाख २४ हजार मान्छे थिए । त्यो नियत खराब भएको मान्छेहरुले प्रचार गरे जस्तो एक हजार ५० तिरेर ल्याइएका मान्छे थिए ? सबै स्वस्फूर्त आएका थिए ।’

दायाँबायाँ केपी ओली ‘आई लभ यू’ भन्ने ठूलो मास देखेपछि प्रधानमन्त्री भावुक बनेको र आशु पुछेको उनले सुनाए । ‘कुम जोडेर बस्ने कमरेडहरुले दायाँ फर्किँदा बायाँले हान्ने, बाँया फर्किँदा दायाँले हान्ने गरेर प्राताडन पारिरहेको एउटा अध्यक्षले त्यो मास, जसले प्रत्येक बोलीमा आइ लभ यू भन्दै थियो । त्यसबाट उहाँ भावुक हुनुभयो’ उनले भने, ‘उहाँ अडिनु भयो, आँशु पुछ्नुभयो र तपाईहरुसँग म छु भन्नुभयो ।’

यसले देशमा प्रधानमन्त्री ओलीभन्दा बढी क्रेज अरु कसैको छैन भन्ने प्रष्ट भएको मुख्य सल्लाहकार रिमालले बताए ।

फागुन ३ मा अंकमा बोल्छौं

कतिपयले किन केपी ओलीको पछि लाग्नुपर्‍यो भन्ने प्रश्न गरेको पनि आफूले सुनेको भन्दै रिमालले भने, ‘प्रधानमन्त्री केपी ओलीले के गर्‍यो भनेर प्रश्न गर्नेहरू मेरो विचारमा काठमाडौं खाल्डोमा केहीकेही पत्रिकामा कथित विचार लेख्ने र राति सुर हराइसकेपछि ट्वीटर र फेसबुकमा बरालिने मान्छे बाहेक केही छैन । जसले कामको सही मूल्यांकन गर्छन्, उनीहरुले काम भएको देखेका छन् ।’

उनले फागुन ३ गते प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग बसेर साक्षत्कार गर्ने तयारी गरेको भन्दै उनले भने, ‘तीन वर्षमा हामीले के गर्‍यौं, अंकमा बोल्छौं । हिजो के थियो, आज के थियो हामी हिसाब किताब गर्छौं ।’

पहिलो नजरमा प्रधानमन्त्रीको कदम सही

नेकपा ओली समूहका स्थायी किमिटी सदस्य समेत रहेका रिमालले प्रतिनिधिसभा विघटनमा आफूहरुले एक चरणको मुद्दा जितिसकेको दाबी गरे । ‘स्टे त जारी गरेन, कामकारबाही रोक त भनेन नि’ उनले अघि भने, ‘पहिलो नजरमा प्रधानमन्त्रीले जे काम गर्नुभयो, सही गर्नुभयो भनिसक्यो ।’

संसदमा विकल्प भएको र अविश्वासको प्रस्ताव दर्ता नभएका कारण तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनलाई असंवौधनिक भनेको भन्दै उनले अहिले विकल्प नै नभएको बताए । उनले अघि भने, ‘सम्मानित न्यायाधीशहरूले अहिले गरेको विघटनमा फरक फैसला दिनुहुन्छ होला जस्तो मलाई लाग्दैन ।’

अब चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए । यसो भनिरहँदा पार्टीको बैधानिकता कसले पाउला भन्ने प्रश्न आउने भन्दै उनले भने, ‘हामीले नपाए कसले पाउला ?’

प्रतिक्रिया