सुनको कारोबार ठप्प, नक्कली गहनाको माग बढ्दो


उदयपुर – दैनिकजसो सुनको मुल्य बढेसँगै उदयपुरमा विगत दुई वर्षयता सुनको कारोबार ठप्प भएको छ।

सुनप्रतिको आकर्षण यथावत रहे पनि अत्यधिक मूल्यवृद्धि र आर्थिक मन्दीले ग्राहकको क्रयशक्ति घटेपछि कारोबार ठप्प भएको हो।

सुनको कारोबार नहुँदा व्यापारीहरू दिनभर हाई काडेर बस्ने गरेका छन्। विशेषगरी चाडपर्व र विवाह उत्सवका महिनामा सधैजसो भिडभाड हुने सुनपसल आर्थिकमन्दीले हिजोआज सुनसान देखिन्छन्।

उदयपुर सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष गजेन्द्र बराइली भन्छन्, ‘सिजनमा दैनिक ७/८ तोला सुन बिक्री हुँदा ९/१० लाखसम्म कारोबार हुने गरेकोमा अहिले १० हजार हुनसमेत गाह्रो छ,’ उनले भने, ‘सुन बिक्री ठप्प छ, पुराना गहनाहरू कुच्याएर ग्राहकका रोजाइका डिजाइन अनुसार बनाएर दिन कटाउने मेलो भएको छ।’

सदरमुकाम गाईघाट मात्र नभई व्यापारिक केन्द्र कटारी, घुर्मि, मुर्कुची, बेल्टार, जलजले र रामपुर ठोक्सिलामा रहेका सुन पसलको हालत पनि उस्तै छ। उदयपुरका मात्र नभई खोटाङ, ओखलढुङ्गा र भोजपुर जिल्लाका सर्वसाधारणले समेत सुनको कारोबार गर्ने यी बजार सुनसान छन्।

प्रतिक्रिया