ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर


खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका-१० सोरुङछबिसेको चिपटार जोड्ने निर्माणाधिन झोलुङ्गे पुलको टावर ढलेको छ । झोलुङ्गे पुलको उदयपुरतर्फको टावर ठड्याइसकिएको केही दिनमै फेदैमा भाँचिएर ढलेको सुनकोसी प्रावि, बाइटारका प्रअ बिशाल राईले बताए ।

१३ स्टेपमध्ये गत वर्ष नौ स्टेप र यसपल्ट पाँच स्टेप जडान गरिएको पुलको टावर शुक्रबार बिहान ११ बजे बिनाकारण ढलेको हो । निर्माणको काम सम्पन्न नहुँदै पुलको टावर भाँचिएर नदीतिर ढलेको छ ।

खोटाङतर्फको पिलरको गत वर्ष ११ स्टेप र यसपल्ट दुई स्टेप जडान गरिएको थियो । खोटाङतर्फको टावर आसपासमा सुनकोसी प्रावि र केही पसल सञ्चालनमा रहेका कारण त्रास बढेको छ । ‘उदयपुरतर्फ खुला ठाउँ थियो । टावर ढल्दा कुनै क्षती भएन,’ राईले भने, ‘खोटाङतर्फ त विद्यालय छ । पशलहरु छन् । रातको केही घण्टा बाहेकका समयमा मान्छेको ओहोरदोहोर भइरहन्छ । पारीकैजस्तो ढल्यो भने ठूलो मानवीय क्षती हुने डर भएको छ ।’

ठेकेदार बशन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैसाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको स्थानीय बताउँछन् । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको प्रअ राईले बताए । निर्माणस्थलमा पुलको लठ्ठा असरल्ल पारेर राखिएको छ ।

सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुंगा चढेर नदीमा वारपार गर्नेगरेका छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

प्रतिक्रिया