पाँच नेपाली खेलाडीलाई युयुएनटीएफ अवार्ड


काठमाडाैं – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जित्‍न सफल पौडीकी गौरिका सिंह र दुई स्वर्ण पदक विजेता आयषा शाक्यसहित पाँच खेलाडी आज युनिभर्सल युनाइटेड नेप्लिज तेक्‍वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन्।

गौरिका र आयषाबाहेक तेक्‍वान्दोका भुपेन श्रेष्ठ, काजल श्रेष्ठ र सञ्‍जीवकुमार ओझा अवार्डबाट सम्मानित भएका हुन्। त्यसैगरी तेक्‍वान्दोका प्रशिक्षक नोर्बु लामा पनि पुरस्कृत भएका छन्।

नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्‍त्रालयका सचिव रामप्रसाद थपलियाले विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन्।

युयुएनटीएफ अवार्ड दोस्रो संस्करणका विजेता पाँचै खेलाडीहरूले ३० हजार रुपैयाँ नगदसहित सम्मानित भएका हुन्। प्रशिक्षकले भने २० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्राप्त गरे।

विश्वभर छरिएर रहेका तेक्‍वान्दो खेलाडीहरूको संगठन युयुएनटिफले गत वर्षबाट अवार्डसहित सम्मान गर्न सुरु गरेको हो। अवार्डको पहिलो संस्करण दुई वर्षअघि बुटवलमा आयोजना भएको थियो। 

कार्यक्रममा युयुएनटिएफ अवार्डबाहेक १३औं सागमा तेक्‍वान्दोबाट पदक जित्‍ने सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई पनि नगदसहित सम्मान गरिएको थियो। तेक्‍वान्दोबाट १२ स्वर्णपदक जित्‍ने १८ खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको थियो। रजत पदक जित्‍ने ६ खेलाडीलाई जनही १५ हजार र  ११ काश्य पदक जित्‍ने १७ जना खेलाडीलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको हो। त्यसैगरी ७ जना प्रशिक्षक र दुई व्यवस्थापकलाई पाँच हजार रुपैयाँ नगद प्रदान गरियो।

त्यस्तै नुवाकोट जिल्लाबाट १३औं सागमा पदक जित्‍ने १० जना खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको थियो। जसमा स्वर्ण पदक जित्‍ने करातेकी अनु अधिकारी, साइक्लिङकी लक्ष्मी मगर र वुद्धिबहादुर तामाङ, फुटबलका अभिषेक रिजाल नगद २५ हजार रुपैयाँसहित सम्मानित भए। 

त्यसैगरी रजत पदक जित्‍ने तेक्‍वान्दोका कृष्णबहादुर तामाङ, उसुका मिन ग्लान, फेन्सिङकी अन्जु तामाङ, जुडोका सञ्‍जित डंगोल, भारोत्तोलनकी अस्मिता राई, तेक्‍वान्दोका कृष्णबहादुर तामाङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। काश्य पदक जित्‍ने तेक्‍वान्दोका रेजिन रिजाल, जुडोका सुनिल नगरकोटी र करातेका राजीव पुडासैनीले १० हजार रुपैंया प्राप्त गरे। 

सोही अवसरमा नेपाली खेलकुदको विकासमा टेवा पुर्याउने १० विशेष ब्यक्तित्वलाई ‘नुवाकोट सम्मान’बाट सम्मानित गरिएको थियो। 

प्रतिक्रिया