नयाँ आईजी : कुँवर भर्सेस ज्ञवाली !


काठमाडौं – शुक्रबार अर्थात आज राति १२ बजेदेखि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले अनिवार्य अवकाश पाउँदैछन् । ३० वर्षे सेवाअवधीका कारण अवकाशमा जान लागेका हुन् ।

आईजीपी सिंहका ब्याची सबै उच्च अधिकारीले आज एकैपटक अवकाश पाउने भएका हुन् । उनीहरूको बिदाइका लागि आज प्रहरी मुख्यालयमा कार्यक्रम आयोजना गरिँदैछ ।

सिंहको अवकाशसँगै ३० औं आईजीपी बन्न पाँच एआईजीहरु तीब्र प्रतिस्पर्धामा छन् – जसका लागि क्रमशः वसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।

उनीहरु हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका हुन् । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ । आजको बैठकले नै नयाँ आईजीपी नियुक्ति गर्नेछ ।

विश्वस्त स्रोतका अनुसार आईजीपी हुने प्रतिस्पर्धामा कुँवर र ज्ञवाली अगाडि छन् । उनीहरु दुवैजना ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । कुँवर मेरिट लिस्टमा एक नम्बरमा छन् भने ज्ञवाली चौथो नम्बरमा छन् ।

आईजीको लागि उनै कुँवर र ज्ञवालीबीच कडा टक्कर रहेको बताइएको छ । ज्ञवालीलाई आईजीपी बनाउन माओवादीका शीर्ष नेताहरु नै लागिपरेको बताइएको छ ।

त्यस्तै मेरिट लिस्टको दोस्रो (राई) र तेस्रो (थापा) नम्बरमा रहेका उनीहरु आईजीको दाबेदार भए पनि सम्भावना न्यून रहेको बालुवाटार स्रोतले बतायो । त्यस्तै पाँचौं नम्बरकी बज्राचार्य समेत आईजीको रेसमा छन् ।

काम गर्नसक्ने सक्षम, संगठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आईजीपी नियुक्त गर्नसक्ने विद्यमान अवस्था छ । त्यसैले सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउने अनुमान छ ।

प्रतिक्रिया