घरभित्र पसेको चितुवा नियन्त्रणमा


कुश्मा – पर्वत सदरमुकाम कुश्मा बजारस्थित भण्डारी टोलको एक घरमा प्रवेश गरेको चितुवालाई नियन्त्रण लिइएको छ। नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयको गेट अगाडि तरकारी खेतीका लागि बनाइएको ‘प्लास्टिक टनेल’ मा देखिएको चितुवा केही समयपछि नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा प्रवेश गरेको थियो।

‘टनेल’मा रहेको चितुवालाई हेर्नेहरूको भिड बढेपछि अत्तालिएको चितुवा ‘च्यानल गेट’ खुल्ला भएको देखेपछि सिधा अगाडिको घरमा प्रवेश गरेको थियो। रेग्मीको घरको भान्छा कोठामा चितुवा पसे पनि त्यो बेलामा कोही पनि नभएकाले चितुवाले मानिसलाई आक्रमण गर्ने मौका भने नपाएको प्रहरीले जनाएको छ।

परिवारका मान्छेहरू एउटा कोठामा थुनिएर बसे भने उनीहरूले नै भान्छा कोठामा बाहिरबाट चुकुल लगाएर चितुवालाई नियन्त्रणमा राखेका थिए। तन्दुरुस्त अवस्थामा रहेको चितुवालाई विज्ञ समूहबिना छाड्दा मानिसमाथि आक्रमण गर्न सक्ने जोखिम भएपछि डिभिजन वन कार्यालय कास्कीबाट बोलाइएको प्राविधिक टोलीले बेहोस बनाउनै नपर्ने खोर चितुवालाई खोरमा सारेको थियो।

वन्यजन्तुको उद्धारमा प्रयोग गरिने एम्बुलेन्ससहित आएको पोखराको टोलीले ढोकाको मुखमा खोर राखेर चितुवाले खोरमा पारेका डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताए।

उक्त चितुवालाई पोखरा लगिएको छ। पोखरा लगिएको चितुवालाई आवश्यक परे स्वास्थ्य जाँच पनि गरेर पुन वनमा नै लगेर छाडिने डिभिजनल वन अधिकृत अधिकारीले बताए। बिहान साढे ८ बजेको समयमा घरभित्र पसेको चितुवालाई दिउँसो करिब एक बजे नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया