

चिनियाँ र रुसी राष्ट्रपतिबीच भेटवार्ता, युक्रेन द्वन्द्व अन्त्य गर्न सीको जोड

मस्को – रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ। वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिएका छन्।
दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो।
राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेका बताए।
राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २०औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकामा धन्यवाद व्यक्त गरे। उनले आफू केही दिनअघि मात्र चीनकाो राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाइ ज्ञापन गरेकामा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गरे।
चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए।
चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन-रुस सम्बन्धलाई अझ सुदृढ बनाउन बेइजिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनौट गरेको उनले स्पष्ट पारे।
चीन-रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवं रणनीतिक साझेदार भएको बताए। दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गरे।
चिनियाँ राष्ट्रपतिले दवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनका साथै संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्व शान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिए।
रुसको राजकीय भ्रमण गरेकामा राष्ट्रपति पुटिनले सीप्रति आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवं उत्कृष्ट उपलब्धिको सराहना गरे। राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो सम्भव भएको भन्दै त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामर्थ्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताए।
वार्ताका क्रममा युक्रेन मुद्दामा पनि दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको थियो। राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए। उनले विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।

