रंगशालाबारे धुर्मुश भन्छन्, ‘मैले कतै अनियमितता गरेको रहेछु भने मलाइ यहीँ गाडिदिनुस्’ (भिडियोसहित)


काठमाडौं – सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा मुख खोलेका छन् । रंगशाला निर्माणस्थलमै पुगेर उनले आफूहरुमाथि लागेका आरोपबारे जवाफ दिनुका साथै रंगशाला अलपत्र पर्नुका कारण विस्तार गरे ।

राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको सुनाए । केही आक्रोशित र केही भावुक देखिएका धुर्मुसले आफूले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको उल्लेख गरे ।

‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ’, धुर्मुसले भने, ‘तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’ सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको धुर्मुसको भनाइ छ । सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनले बताए ।

उनले भिडियोमा भनेका छन्, ‘डेढ वर्ष बिताइसकें । अझै पनि कहाँ-कहाँ हिसाब देखाउनुपर्ने हो देखाउन तयार छु । अझै चेकजाँच गरियोस् । चारवटा समिति गठन भइसके । कतै गडबडी भएको भए मेरो हातमा हत्कडी हुन्थे होला ।

सरकार त सबैको अभिभावक हो नि ! अभिभावकले सन्तानलाई माया र संरक्षण दिन्छ होला भनेको रुँदै हिँड्नुपरेको छ । मेरो खोट कतै देखिन्छ भने तुरुन्तै निर्णय होस् । यदि कोहीकसैलाई हाम्रा हिसाबहरु, अडिट रिपोर्ट चित्त बुझ्दैन भने एकचोटि रंगशालामा आएर हेर्नुस् । तपाईंले गरेको सहयोग बराबरको छैन भने मलाई यही गाडिदिनुस् । तर, यसरी पलपल नमारिदिनुस् ।

मेरो परिवार पलपल मरिरहेको छ । हरेक दिन घर फर्किंदा परिवारले सोध्छन्- आज टुंगियो ? श्रीमती सुन्तलीले महायज्ञको अन्तिममा बोलेको कुरालाई बंग्याएर महारानी भनियो । तथानाम गालीगलौज गरियो । बरु मलाई गाली गर्नुस् । मेरो परिवारका सदस्यलाई, अभियन्ता कसैलाई गाली नगरिदिनुस् । दोष सबै म जिम्मा लिन्छु । मेरो परिवारमा कसले कतिवेला आत्मदाह गर्ने हुन् भन्ने अवस्था छ ।’

प्रतिक्रिया