

शेख दाजुभाइलाई वीरगञ्ज महानगरको सम्मान

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग टू मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।
नेपाल विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले सम्मान गरेको हो । उनीहरू दाजुभाइ हुन् ।
महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरूलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरिएको छ ।
मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरूको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे । सोही दिन महानगरले यसअघि घोषणा गरेको पुरस्कार मोटरसाइकल पनि प्रदान गर्ने उनको भनाइ छ ।
महानगरको सम्मानले आफूहरूलाई अझ हौसला थपिदिएको प्रतिक्रिया शेख दाजु भाइले दिएका छन् ।

