स्ववियु निर्वाचनका लागि मतदान सुरु, केन्द्रीय क्याम्पस कीर्तिपुरमा अझै सुरु भएन


काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो ।

केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ ।

निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटोरढिलो हुनसक्ने त्रिविले जनाएको छ ।

स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हुन्छ ।

कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा भने अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । विद्युतीय मेसिनबाट मतदान हुने भनिएको निर्वाचनमा रहेका विद्यार्थी संगठनका प्रतिनिधिहरु नआईपुगेकाले केही बेर ढिलो हुन गइरहेको जनाइएको छ । अब केही बेरमा मतदान सुरु हुनेछ ।

प्रतिक्रिया