

जनतालाई स्वच्छ खानेपानी पुर्याउनु नैतिक जिम्मेवारी : मन्त्री खान

नेपालगञ्ज – खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्याउनु आफ्नो नैतिक जिम्मेवारी भएको बताएका छन् । नेपालगञ्जमा आज (शनिबार) पत्रकारसँग कुराकानी गर्दै उनले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरत रुपमा काम गरिरहेको दाबी गरे ।
स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संविधानमा व्यवस्था रहेको बताउँदै उनले भने, ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दैछु ।’ खानेपानी मन्त्रालय अन्तर्गतका निकायले जनतालाई कुनैपनि अप्ठ्यारो नपारी, राजनीतिकरण नगरी घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु कर्तव्य भएको बताए ।
देशका खोला नालाबाट विभिन्न ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेको भन्दै त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा बाहिरका देशमा पुर्याउन सकिने र देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले बताए । ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौ भने हाम्रो देशको हितमा धेरै ठुलो योगदान हुन सक्छ,’ उनले भने ।
आफू एक-डेढ वर्ष मात्रै मन्त्रालयमा बस्न पाएमा काठमाडौं उपत्यकामा पानीको अभाव अन्त्य गर्ने दाबी गरे । यस्तै दुई देखी तीन वर्ष बस्न पाएमा तराई मधेसका सम्पूर्ण जिल्लामा आर्सेनिक न्यूनीकरण गरेर स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
यसका लागि विभिन्न निकाय, अन्तर्राष्ट्रियस्तरका दातृ संस्थासँग एक चरणमा परामर्श गरिसकेको बताए । सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी जनताको घर–घरमा पुर्याउने अन्तर्राष्ट्रियस्तरमा गरेको हस्ताक्षर अनुसार काम गर्ने प्रतिबद्धता जनाए । जनमत पार्टीका युवा नेता तेजनारायण कँडेलका अनुसार नेपालगञ्ज आइपुगेका मन्त्री खान विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।

