


संविधानको पालना र संरक्षण अबको प्रमुख दायित्व : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा सांसदहरूका लागि शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताएका हुन्।
उनले भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु।’
राष्ट्रपति पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने पनि बताए।
राष्ट्रपति पौडेलले संघ तथा प्रदेशका सांसदहरूसँग भेटघाट गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा मत दिन काठमाडौँ आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले चियापान तथा भेटघाटको लागि शीतलनिवासमा बोलाएका हुन्।
चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थिति थियो। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट कार्यक्रम आयोजना गरेका हुन्।

