

क्रिकेट क्रेजः साढे ६ बजेदेखि नै कीर्तिपुर मैदान पुगिसके दर्शक

काठमाडौं – नेपाल र युएईबीचको आजको खेल हेर्नका लागि दर्शकहरु कीर्तिपुरस्थित क्रिकेट मैदान पुगिसकेका छन् ।
नेपालका लागि ‘डु अर डाई’ मानिएको खेल हेर्नका लागि दर्शकहरु बिहान साढे ६ बजेदेखि नै लाइनमा बसिसकेका छन् । आफू बिहान साढे ६ बजे आउँदा पनि लामो लाइनमा बस्न परेको क्रिकेटप्रेमी समिर पाठक बताउँछन् । उनी भन्छन्, ‘आज कलेज नै बंक गरेर यता आइएको छ ।’ उनले कलेजका साथीहरू भएर १०/१२ जनाको ग्रुप आएको उनले बताए ।
बिहान साढे ९ बजेदेखि सुरू हुने खेल हेर्नका लागि हजाराैंकाे संख्यामा मैदान पुगिसकेका छन् । कतिपय दर्शकहरूले हिजोदेखि नै पञ्चेबाजा तयारी अवस्थामा राखिसकेको र बस नै लिएर आएको बताए ।
दर्शक बढी हुने भएकाले प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाइएको प्रहरीले जनाएको छ । क्यानले यसपटकको टिकटबाट उठेको रकम खेलाडीको कल्याणकारी कोषका लागि राखिने जनाएको छ ।
विश्वकप छनोट प्रवेशका लागि जित्नै पर्ने बाध्यतासहित मैदानमा उत्रन लागेको नेपाल र युएईबीचको इतिहासमा नेपाल बलियो रहँदै आएको छ । नेपाल पछिल्लो समय उच्च लयमा रहेको छ ।
नेपालले डिभिजन २ का पछिल्ला ११ खेलमा १० खेलमा जित हात पारेको छ । यसअघि अघिल्लो साता युएईमै सम्पन्न एक खेलमा युएईसँग पराजय ब्यहोरेको नेपालले त्यसअघिल्लो स्कटल्याण्ड, नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज क्लिन स्वीप गरेको थियो भने युएई सिरिजमा पनि ३ जित हात पारेको थियो ।
र जारी सिरिजमा पनि नेपालले अहिलेसम्मका ३ खेलमा तिनवटैमा जित हात पारिसकेको छ ।
त्यसै उच्च मनोबलका साथ मैदानमा उत्रन लागेको नेपाललाई दर्शकहरुले पनि साथ दिने देखिएको छ । कीर्तिपुर मैदानमा आजको खेलका लागि १२ हजार जनाको टिकट बिक्री भइसकेको जनाइएको छ ।

