पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने


जाजरकोट – बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने उद्देश्यका साथ कामको सुरु गरेको छ। सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उनको भनाइ छ। यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुरीमा चालु आर्थिक वर्षभित्र खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ।

यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ। कुल दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ लागतमा योजना सञ्चालन गरिएको हो।

त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका १२८ घरधुरीमा धारा जडानका लागि ८० लाख बजेट बिनियोजन गरिएको छ। वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट–२ का स्थानीय पदम रोकायले बताए।

गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पुर्‍याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ शाहको भनाइ छ।

हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ। जनसङ्ख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष गिरीको भनाइ छ।

पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उनको भनाइ छ। यसले पानीको सही सदुपयोग गर्दै पानीसँग सम्बन्धित विवाद पनि समाधान हुने उनको विश्वास छ।

जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो। यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ।

पानीका मूल अहिले के प्रयोजनका लागि प्रयोग भइरहेका छन् ? आगामी दिनमा ती पानीको मुहानलाई के काममा प्रयोग गर्न सकिन्छ ? यसको पनि समुदायकै सहभागितामा लेखाजोखा गरिने भएकाले बारेकोट गाउँपालिकाभित्र यसको सबै अध्ययन हुने अध्यक्ष गिरीले बताए।

जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ।

प्रतिक्रिया