
प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
प्रचण्डले १५ दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने
काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
‘निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने केही कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । उनका अनुसार मुद्दामा अग्राधिकार समेत दिइएको छ ।
आजको सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए।
हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो।
माघी पर्वका अवसरमा २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताए।
यही अभिव्यक्ति बमोजिम पक्राउ गरी छानबिन गर्नुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
यसअघि अदालत प्रशासनबाट दरपीठ भएको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो।



कागजपत्र |
