
उपराष्ट्रपतिमा रञ्जिता !
काठमाडौं – जसपाले ९ दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने भनिएकै बेला नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता चौधरीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले पनि राष्ट्रपतिभन्दा फरक लिंग र समूदायको व्यक्तिलाई उपराष्ट्रपति उम्मेदवार बनाउनुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि रञ्जीताको सम्भावना बढी देखिएको छ ।
आज बसेको दलको बैठकले रञ्जितालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । आजै बिहानमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।
जसपाले भने उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् ।
यसैबीच निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्नुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि अब रञ्जीताको सम्भावना बढी रहेको देखिएको छ ।



कागजपत्र |
