
जनताको अधिकारमाथि खेलवाड गर्नु हुँदैन : नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बिपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व।विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए। उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताए।
उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि विपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो। जसरी देशलाई नयाँ दिशा देखाउनु भयो। आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो। लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ति व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्राण गर्छु। अहिले जनतामा निराशा जस्तो देखिएको छ। जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमिहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतीको बाटो समात्नुपर्छ। सुशासनबाट देशको उन्नती हुन्छ। सुशासन देशले खोजेको छ। प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु। नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनु हुँदैन।’
राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्यानुभयो। उहाँले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए। पौडेल बिहीबार भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका थिए।



कागजपत्र |
