माओवादी घटकहरुको बैठक बस्दै


काठमाडौं — तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो ।

उक्त बैठकमा प्रचण्डले माओवादी धारका नेताको साथ खोजेका थिए । सर्वोच्च अदालतको आदेश आफूमा मात्र केन्द्रित नरहेको भन्दै उनले सबै नेता तथा दल एकजुट हुनु पर्ने बताएका थिए । प्रचण्डविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

गत मंगलबार माओवादी धारका आठ दलका नेताहरूसँग छलफलका क्रममा उनले अदालतको आदेश शान्ति प्रक्रियासँग जोडिएको बताउँदै आफूहरू एक भएर जानुपर्ने धारणा राखेका थिए । उनले अदालतको आदेश शान्ति प्रक्रिया र माओवादी आन्दोलनसँग जोडिएको विषय भएको भन्दै सामूहिक चासो लिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया