नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने


काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ र फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित नतिजा निकाल्नु पर्ने हुन्छ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।

नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।

पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ ।

नेपालले फागुन २८ गते यूएईसँग दोस्रो खेल खेल्नेछ भने फागुन २९ मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा चैत २ मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

पीएनजी  ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया