

दरबारमार्गमा प्रधानमन्त्री ओलीको बृहतसभा : सार्वजनिक गाडीलाई प्रवेश निषेध

काठमाडाैं – हिजो नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको आमहड्तालले जनताले सास्ती खेप्नु परेको थियो भने आज पनि सास्ती खेप्नु परेको छ । आज भने नेकपा ओली समुहको बृहत सभाले सास्ती खेप्नु परेको छ । अहिले काठमाडौंको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।
दरबारमार्गमा प्रधानमन्त्री ओलीका तस्बिरहरू सजाइएको छ भने मञ्चमा डिजिटल डिस्प्लेसहित सजाउने काम भइरहेको छ । प्राविधिकहरूले अडियोको परीक्षण गरिरहेका छन्। दरबारमार्ग पखालिएको छ भने दरबारमार्गका पसलहरू बन्द छन्।
त्यसका लागि नारायणहिटी दरबार सङ्ग्रहालय छिर्ने मुलगेट अगाडि मञ्च बनाइएको छ । प्रायः व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि रत्नपार्क–जमल–लैनचौर सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ ।
उक्त सडकखण्ड भएर चल्ने गाडीहरुलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ भने केशरमहल–दरबारमार्ग हुँदै पुतलीसडकको खण्डमा पनि सवारीलाई प्रवेश दिइने छैन ।
माघ ९ गतेको जस्तै आज पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको ट्राफिक प्रवक्ता एसपी श्यामकृण अधिकारीले जानकारी दिए । ‘जुलुस सुरुहुने सबै सडकमा ठूला तथा सार्वजनिक सवारीलाई प्रवेश दिएका छैनौँ,’ प्रवक्ता अधिकारीले भने, ‘रिङ रोडभित्र ठूला सवारीलाई प्रवेश दिनसक्ने अवस्था छैन ।’
सत्तारुढ दलले आफ्नो शक्ति सडकमा प्रदर्शन गर्ने भएकाले पनि यसमा धेरैको चासो छ। प्रधानमन्त्री ओलीले जनप्रदर्शन के हो भन्ने देखाइदिने बताएकाले पनि आज धेरैको चासो छ सत्ता शक्ति प्रदर्शनमा।

