

नेपाल प्रहरी र स्थानीयको रोहवरमा वनमा छोडियो हुचिल

मलेखु – धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पक्षी हुचिल नीलकण्ठ नगरपालिका-८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् ।
डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पक्षी वनमा छोडिदिएको हो। अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय खानी खोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो ।
हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका-१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं। ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लाटोकोसेरा प्रजातिको संरक्षित पक्षी हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । हुचिल जादुगर चरोको उपनामले परिचित छ । करिब ६० वर्ष आयु हुने हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्गाले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरू बताउँछन् ।
तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ । हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जङ्गलमा छोडिनुने यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ-८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।

