


प्रत्येक महिना २ हजार नेपाली श्रमिक दक्षिण कोरिया पठाउँदै

काठमाडौं – वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा अब नेपालबाट प्रत्येक महिना २ हजार पठाउने भएको छ ।
फेब्रुअरी महिनाबाट प्रत्येक महिना दुई हजार कामदार कोरिया प्रवेश पाउने गरी नेपालले तालिका प्राप्त गरेको र त्यसै अनुसार तयारी पनि अघि बढाइएको अधिकारीहरुले जनाएको छ । दक्षिण कोरियामा सन् २०२३ मा नेपालबाट २५ हजारसम्म श्रमिकहरू पठाउन सकिने अवस्था देखिएको अधिकारीहरूले बताएका छन्।
कोरिया सरकारले विदेशी श्रमिकहरूबारे केही नीति परिवर्तन गर्दै सक्दो छिटो श्रमिक पठाउन सक्ने देशलाई प्राथमिकता दिने नीति अवलम्बन गरेसँगै नेपालबाट जाने कामदारहरूको सङ्ख्या बढ्ने अवस्था सृजना भएको हो । ज्यानुअरी महिनामा नेपालबाट झन्डै १६ सय देखि १७ सय श्रमिकहरू कोरिया गएको अधिकारीहरू बताउँछन्।
विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण पछिल्लो दुई वर्ष नेपाल सहित विभिन्न देशहरूका श्रमिक सहज रूपमा कोरिया प्रवेश गर्न पाएका थिएनन्। नेपाली श्रमिकका लागि झन्डै पाँच महिना अघि रोजगारीका लागि कोरिया जाने ढोका खुला भएको थियो ।
त्यसपछि सन् २०२२ मै १५ हजार कामदार कोरिया गएको सरकारी तथ्याङ्क छ । त्यसअघि महामारीका कारण कोरिया प्रवेश गर्न नपाएका अधिकांश श्रमिक हाल कोरिया प्रवेश गरिसकेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।
ईपीएस कोरिया शाखाका अनुसार विगतमा उत्पादनमूलक क्षेत्रमा काम गर्न झन्डै १२ हजार श्रमिक सूचीकृत भएका छन् । त्यस्तै कृषि तथा पशुपालन तर्फ पालो पर्खेर बसेका र पछिल्लो परीक्षा उत्तीर्ण भएर बसेकाहरूको सङ्ख्या झन्डै ३२ सय छ । पछिल्लो पटक परीक्षा उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण सम्पन्न गर्न भने बाँकी छ ।
अधिकारीहरूका अनुसार मार्च महिनाको तेस्रो साता कोरिया जान चाहने कामदारका लागि श्रम सम्झौता जारी हुनेछ । त्यसले धेरै नेपाली कामदारहरूका लागि कोरिया जाने ढोका खुला गरिदिने ठानिएको छ ।

