

यात्रुबाट बढी भाडा असुल्ने पाँच जना पक्राउ

काठमाडौँ – निर्धारितभन्दा बढी भाडा यात्रुबाट असुल्ने पाँच जनालाई ट्राफिक प्रहरीले शनिबार बिहान बल्खुबाट पक्राउ गरेको छ।
सुविधा काउन्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईँ र शिखरापुर काउन्टरका कामदार काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी पक्राउ परेका हुन्। यस्तै गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालीगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन पनि पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो । चाडपर्व (होली) को अवसर पारेर काठमाडौँबाट बाहिरी जिल्ला जाने यात्रुसँग चालक तथा काउन्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको गुनासोपश्चात् यस कार्यालयबाट सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ।
निर्धारण गरिएभन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँच जनालाई कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

