

रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको उडान आजलाई स्थगित

काठमाडौं – गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारका लागि पूर्वनिर्धारित नेपाल एयरलाइन्सको उडान शुक्रबारका लागि सरेको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा यस उडानलाई सहजीकरण गरिरहेका योगराज कँडेलका अनुसार निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको हो । कर्मचारी र आवश्यक उपकरण समेत शुक्रबार मात्रै काठमाडौंबाट गुल्मी लैजाने भएकाले तयारी पुरा नभएको उनले जानकारी गराए ।
शुक्रबार उडान हुने तयारी भइसकेको र सो परीक्षण अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनिय र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुन पाउने उनले बताएका छन् । यो परीक्षणपश्चात गुल्मीमा नियमित उडान गर्ने गरी निगमले तयारी गरेको छ । सुरुमा हरेक सोमबार र त्यसपछि यात्रु बढ्दै गएमा उडान बढाउने निगमले जनाएको छ ।
काठमाडौं–गुल्मी एक घण्टाको उडान हुने छ । यहाँ १८ सिट क्षमताको ट्वीनअटर जहाज मात्र उड्छ । त्यो जहाज पनि लोड पेनाल्टीका कारण केही कम यात्रु राखेर उडाउने गरिन्छ ।

