

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महोत्तरी – जिल्लाका वनजंगलमा डढेलो फैलिएको छ। डढेलोका कारण ठूला रुख मात्र नभई साना बिरुवा नष्ट हुन थालेका छन्।
बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ।
बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्। यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ। यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन्। ‘डढेलो लगाउनेहरू कहिल्यै समातिएनन्’, बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, ‘डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकेका छैनौँ।’
डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ। साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ। उनीहरूको उदासीनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउँछन्। वन कर्मचारीको उदासीनताले वन सखाप भइरहेको उनको भनाइ छ।
जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ। पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकेको कर्मचारी बताउँछन्। डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउँछन्।
वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने बताउँछन्। ‘वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्’, उनले भने, ‘यी सबैको संयुक्त गस्ती बढाउनुपर्छ।’

