

सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाउन वीरगन्ज महानगरको डोजर

वीरगन्ज – सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन वीरगन्ज महानगरले अभियान थालेको छ। महानगरले नाला, सडकपेटी, पार्कलगायतका सार्वजनिक स्थल र जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको हो।
सार्वजनिक क्षेत्रमा भौतिक संरचना हटाउन महानगरले कार्तिक १५ गते जारी गरेको सार्वजनिक सूचनाको प्रभावकारी कार्यान्वयन नभएपछि आफैँ डोजर लगाएर संरचना हटाउने अभियान सुरु भएको हो।
यहीक्रममा मंगलबार वीरगन्ज महानगरले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरी बनाइए घर भत्काइएको छ। पोखरीले चर्चेको पाँचवटा पक्की घर डोजरले भत्काएर खाली गराइएको मेयर राजेशमान सिंहले बताए।
माइराम पोखरीको जग्गामा निर्मित चिल्ड्रेन पार्कको पूर्वतिर बनाइएका पाँच वटा पक्की भवन भत्काइएको उनले बताए। पोखरीले चर्चेको जग्गामा अतिक्रमण गरी बनाइएका अन्य संरचना पनि हटाउने उनले बताए।
२०२२ सालको नापीमा आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि माइराम पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको देखिन्छ। तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि अहिले पोखरी खुम्चिएर १८ कट्ठामा मात्रै समेटिन पुगेको छ।
मेयर सिंहले महानगरका निस्सा वा प्रमाण देखाउन नसकेका महानगरका अन्यस्थानका संरचना पनि भत्काइने बताए।

