धुलिखेल-सूर्यविनायक सडक विस्तार सुरू, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य


काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो ।

यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमबारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु गरिएको हो ।

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र विस्तार गरिने कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो ।

साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । उक्त खण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै ठेक्का सम्झौता भइसकेको विभागले जनाएको छ ।

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर १५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

उक्त डीपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा जनाइएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो ।

आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने छ ।

यस सडकखण्डमध्ये बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । आयोजनाकी सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत सो सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने जानकारी दिइन् । बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर छन् ।

यस्तै संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल नगरपालिका जोडिएको छ । यी सडकबाट अरनिको राजमार्गहुँदै प्रदेश १ र २ का नागरिक काठमाडौं आउजाउ गर्दछन् । सडक विस्तार भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया