

नेपाललाई मलेशियाविरुद्ध जितका लागि ७३ रनको लक्ष्य

काठमाडौं – आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले जितका लागि ७३ रनको लक्ष्य पाएको छ ।
नेपालका स्पिनर दिपेश कंडेलको उत्कृष्ट बलिङमा मलेसिया ७२ रनमा अल आउट भएको छ ।
मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको हो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए । ओपनर हैरिल हरिसनले १२ रन जोडे ।
पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो ।
छैटौं ब्याटर मोहम्मद स्याहिर स्यामिलले १२ रन बनाए । अन्य कुनै ब्याटर दोहोरो अंक बनाउन क्रिजमा टिक्न पाएनन् ।

