

वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली

काठमाडौँ – वसन्तपुर हनुमान ढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।
आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् । हनुमान ढोका दरवारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।
भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहि आएको छ ।
प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होली मनाउने गर्दछन् । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

