

मुगुमा भू तथा जलाधार व्यवस्थापनकाे सम्पर्क कार्यालय स्थापना

मुगु – मुगुमा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशको जुम्लामा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयकाे सम्पर्क कार्यालय सदरमुकाम गमगढी बजारमा आइतबार कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले उद्घाटन गरेका हुन ।
विशेष गरेर योजनाको सम्झौता, अनुगमन, निवेदन संकलन लगायतका काम हुने भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए । यस कार्यालयबाट भू-क्षय नियन्त्रण, पानीका मुहान संरक्षण, तटबन्ध, पहिरो रोकथाम लगायतका काम हुने उनले बताए । योजनाको अन्तिम भुक्तानीका लागि जुम्ला नै जानुपर्ने भए पनि निकट भविष्यमा भुक्तानी पनि जिल्लाबाटै हुने साउदको भनाइ छ ।
अहिले कार्यालय प्रमुख सब ईन्जिनियर मञ्जु अवस्थीसहित दुईजना कर्मचारी रहने बताइएको छ । कर्णालीका डोल्पा, हुम्ला र रुकुम पश्चिममा कार्यालय स्थापना गरेसँगै मुगुमा पनि यसको कार्यालय स्थापना हुनु पर्छ भन्ने हेतुका साथ कार्यालय स्थापना गरिएको मन्त्री मल्लको भनाई छ ।

