नेपालले दियो कुवेतलाई ३४४ रनको विशाल लक्ष्य

यू-१९ को खेलमा देव खनाल र अर्जुन शतकका साथ नेपालले बनायो ७ विकेटको क्षतिमा ३४३


काठमाडौं – यू–१९ को शनिबार जारी कुवेतविरुद्धको खेलमा नेपालले ३४४ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि कप्तान देव खनाल र अर्जुन कुमालको विस्फोटक शतकका मद्दतले नेपालले ७ विकेट गुमाउँदै ३४३ रन बनाउँदै कुवेतलाई ३४४ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए ।

कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर कुमालले भने १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए ।

नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए ।

विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाए । दिपक बोहोराले ९ बलमा १९ रन बनाए ।

कुवेतका हेनरी थोमसले २ तथा जय महेशकुमार मेहता र सहिल काज्मीले समान १/१ विकेट लिए । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।

कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।

लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यसहित युएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

अर्जुन र कप्तान देव खनालबीचको १ सय ७० रनको साझेदारी तोडिएको थियो ।

प्रतिक्रिया