
सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा समावेश
काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ट्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उहाँलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो । उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो । उनी यही आइतबार कारागार मुक्त भएका थिए । निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।



कागजपत्र |
